तिलोत्तमाको श्रृंगेश्वर धाममा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनको तयारी

सेप्टेम्बर 1, 2022

करिब एक बिघा क्षेत्रफलमा साढे २ तले भवन र अन्य संरचनाहरु तयार भएपछि आउंदो २ महिनापछि निशुल्क रुपमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा आउन लागेको हो । शुरुवाती चरणमा ७० वर्ष नाघेका २५ महिला र २५ जना पुरुषलाई बिहान ११ बजेदेखि सांझ ४ बजेसम्म राख्ने तयारी भएको छ । शुरुमा ५० जनाबाट शुरु गरी सय जना हुंदै सरकारबाट जग्गा प्राप्त भएमा भविष्यमा एक हजारजनासम्म राख्ने लक्ष्य रहेको छ ।

केन्द्रलाई जेष्ठ नागरिकको संरक्षण केन्द्रको रुपमा विकास गर्ने,जेष्ठ नागरिकलाई तनाव मुक्त बनाउन मनोरन्जन,सत्संग ध्यान योगा गायतका सेवा दिइने सचिव हरिप्रसाद कंडेलले बताउनुभयो । केन्द्रका कार्यवाहक अध्यक्ष यदुनाथ पाण्डेले आउदो २ महिनापछि केन्द्र सञ्चालनमा आउने र केन्द्रमा आउन जान निःशुल्क यातायातको व्यवस्था गरिने बताए । भविष्यमा जेष्ठ नागरिक अस्पताल समेत बनाउने लक्ष्य रहेको पाण्डेले बताए ।

केन्द्रका संरक्षक ऋषि भण्डारीले केन्द्र सञ्चालनका लागि मासिक ५ लाख खर्च हुने भएकाले एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य रहेको भन्दै पुण्य कार्यमा सबैको सहयोगको अपेक्षा गरे । श्रृंगेश्वरधाम र जेष्ठ मिलन केन्द्रका पदाधिकारी, सदस्य र विभिन्न चन्दादाताको करिब ५ करोड लगानीमा धाम र जेष्ठ नागरिक मिलन केन्द्र बनेको हो । धाममा पशुपतिनाथ लगायतका मन्दिरहरु, बर पिपल र स्वामीका रुखको हरियालीयुक्त चौतारी, ६८ फिट अग्लो त्रिशुल, पानीको फोहरा,बाल उद्यान,कार्यालय भवन लगायतका संरचनाहरु छन् ।

केन्द्रलाई भविष्यमा एक हजार जना क्षमताको बनाई प्रदेशकै नमूना बनाउन स्थानीय, प्रदेश र संघीय सरकारले जग्गा र वजेट उपलब्ध गराउन ध्यान जान जरुरी छ ।